तनाव व्यवसथापनका केही उपायहरु
कुनै न कुनै हिसाबको तनाव हरेक व्यक्तिको जीवनमा हुन्छ र आफ्नो जीवनमा तनाव नै आउन दिन्न भन्ने पनि सम्भव हुँदैन।असफलता वा सफलता दुवै अवस्थामा तनाव हुनसक्छ।नजानिँदो तरिकाले तनावले भित्र-भित्रै मानिसलाई खोक्रो बनाएर अनेकन रोगहरुको स्वागतको लागि बाटो बनाएको हुनसक्छ।सबै खाल्का तनावलाई रोक्ने सामर्थ्य मानिसमा नभएतापनि तनावको सही व्यवस्थापन गर्ने लगाम भने आफ्नै हातमा हुन्छ। तनावकै कारण दिमाग, पेट,हाड जोर्नीका समस्याहरु, रक्तचापको समस्या, चिनीरोग जस्ता समस्यामा पनि हुने अनुसन्धानले देखाएको छ।तसर्थ, उचित रुपमा तनाव व्यवस्थापन गर्नु पनि एउटा सीप हो,कला हो जसले स्वस्थकर र आन्नददायक जीवन तर्फ डोर्याउँछ।
तनावको सूचक सकेत मानसिक,शारीरिक,व्यवहारगत र सम्बन्धमा देखिन्छन्।केही लक्षणको चर्चा तल गरिएको छ:
शारीरिक लक्षणहरु: टाउको भारी हुने वा दुख्ने,पेट दुख्ने, मांसपेशीहरु दुख्ने ,मुख सुक्ने,चिट्चिट् पसिना आउने,जीऊ, हात खुट्टा गल्ने ,मुटुको धड्कन बढ्ने, श्वास फेर्न गाह्रो जस्तो हुने, महिनावारी नियमित नहुने आदि।
मनका लक्षणहरु: आफ्नो काममा राम्रो गरी ध्यान दिन कठिनाई हुने,होलमेल गर्ने व्यक्ति पनि एक्लै बस्न रुचाउने,रुन,कराउन,चिच्याउन मनलाग्ने,उदास हुने,छिट्टै कुराहरु बिर्सने आदि।
व्यवहारगत परिवर्तनः बानी व्यवहारमा परिवर्तन जस्तै रिसाई रहने, जिद्दी गर्ने, आक्रमक हुने, सुतिरहने तर निन्द्रा नपर्ने,छट्पट् हुने,खानापानमा गडबढी हुने,तनाव कम गर्न रक्सी, चुरोट खाने वा मात्रामा वृद्दि गर्ने, काममा मन नलाग्ने र आफ्नो स्वास्थ्यको ख्याल नराख्ने आदि ।
सम्बन्ध बिग्रने : माथि उल्लेखित लक्षणहरुको फलस्वरुप,अरुसंँगको सम्बन्धमा चिसोपन आउन सक्छ।पारिवारिक झै-झगडा,साथी-भाई सँग मनमुटाव,आफ्नो नजिकको सम्बन्धमा दरार,उदासिनता छाउन सक्छ।
यी लक्षणहरु कहिलेकाही गाह्रो परिस्थतिमा देखिन्छन् र हराउछन् पनि तर एकनासले लामो समयसम्म रहिरहेमा,शरीरका विभिन्न भागमा असर गर्न सक्छन् त्यसैले सतर्क भएर व्यवस्थापन तर्फ लाग्नु जरुरी छ।
मानसिक तनावको व्यवस्थापन कसरी गर्ने (Management of stress)
१. संवेगात्मक बौद्धिकताको विकास:धेरैजसो अवस्थामा के कारणले मलाई तनाव भइरहेको छ (मलाई के कुराले रिस उठेको छ?किन बारम्बार टाउको बिनाकारण देखिरहेछ? ) भन्ने कुरै थाहा नभएको हुन सक्छ र साना- सानाले समस्याले विकराल रुप लिइसकेको पनि हुन सक्दछन् । तसर्थ, वास्तवमा, मेरो तनावको कारण के हो ? भनेर केलाउनु आवश्यक पर्छ। यसो गर्नाले केही हदसम्म तनावको कारक तत्व पहिल्याउन मद्दत गर्छ। जब समस्याको पहिचान हुन्छ, तब व्यवस्थापन,न्यूनीकरण वा समाधानतर्फ अगाडि बढ्न सहज हुन्छ।
२. इन र आउट: तनावको कारण थाहा पाएपछि, तनाव लिइरहेको कुरा आफ्नो नियन्त्रणमा छ (In my control) वा छैन ( Out of my control) ? भन्ने कुरा मनन गर्नुपर्छ। विभिन्न अनुसन्धानले के देखाएको छ , हामीले तनाव लिने आधाभन्दा बढी समस्या हाम्रो नियन्त्रणभन्दा बाहिरको हुन्छन्। जस्तै- कोही एक व्यक्तिले तपाईंप्रति इर्श्या भाव राख्दछ भन्ने कुराले तपाईंलाई साह्रै पिरोलेको।एकचोटी सोच्नुहोस् त ? के त्यो व्यक्तिको सोच तपाईंको नियन्त्रणमा हुन्छ त? अवश्य हुँदैन।त्यसोभए,आफ्नो नियन्त्रणमा नभएको कुराहरूको तनाव लिनुको औचित्य छ र?
३. सत्य -तथ्य Vs भावना: “I have been through some terrible things in my life,some of which actually happened”- Mark Twain ।मानव प्रवृत्ति नै सत्य-तथ्य कुराभन्दा पनि भावनामा बग्ने खाल्को हुन्छ,अनि कुरै नबुझिकन छिट्टै प्रतिक्रिया दिने बानी पनि बसेको हुन्छ,जसले प्राय: तनाव निम्त्याएको हुन्छ।अत: reaction भन्दा पनि responsive भएर र भावनामा भन्दा यथार्थ कुरा पत्ता लगाएर अघि बढ्दा पनि केहि हदसम्म तनावलाई व्यवस्थापन गर्न सकिन्छ।
४. उपयुक्त जीवनशैली: हाम्रो सन्तुलित खानपान, सरसफाइ, व्यायाम (कम्तिमा 20– 30 मिनेट हरेक दिन केही अभ्यास गर्ने), सोच ,निन्द्रा, फुर्सद को समयमा गर्ने गतिविधि (श्रृजनात्मक कार्यमा लाग्ने, साथीभाइसँग रमाउने, मनपरेको कुरा गर्ने) विश्राम, समयको व्यवस्थापन (जरुरी vs महत्त्वपूर्णमा प्राथमिकता रोज्ने) आदि कुराले जीवनशैली झल्काउँछ। बेलाबखत, आफुमा कस्तो सोचाई आइरहेको छ? आज मलाई कस्तो छ? आज म खुशी छु कि ? तनावमा लागुपदार्थ तिर पो ढल्केको छु? भन्ने जानकारी पनि लिनुपर्छ। बाहिरी शरीरलाई राम्रो बनाउनलाई जति मेहनत गर्दछौं ,त्यति नै मनको पनि हेरचाह गर्नुपर्छ। सन्तुलित आहार (Balance diet),आराम र निन्द्राप्रति सचेत हुनुपर्छ। चुरोट, सुर्ती आदिबाट टाढै रहनु उचित हुन्छ।
५. स्वास-प्रस्वासको अभ्यास: तपाईंलाई रिस उठ्दा, श्वासको गति कस्तो हुन्छ? खुशी वा आनन्द हुँदा श्वासको गति कस्तो हुन्छ? याद गर्नुभएको छ। हामी तनावमा हुँदा छिटोछिटो श्वास लिने र छाड्ने गरेको हुन्छौं जसले गर्दा शरिरमा अक्सिजन राम्रोसँग उपयोग हुन पाउँदैन ।लामो र गहिरो श्वास लिने र छोड्ने गर्नाले, फोक्सोको तल्लो भागसम्म अक्सिजन पुग्छ र र शरीरमा अक्सिजन प्रवाह राम्रो हुन्छअनि मन शान्त हुन्छ। तनावको समयमा लामो लामो स्वास लिने बानीले पनि तनाव व्यवस्थापनमा टेवा पुर्याउन सक्छ।
६. सहयोग प्रणालीको पहिचान: तनावसँग एक्लै संघर्ष गर्न नसकिरहेको अवस्थामा, जीवनमा आइपरेका चुनौती, उदासिनता र चिन्ताले भित्रभित्रै पिरोलेको समयमा, अरूको सहयोग आवश्यक पर्दछ। साथीहरु, घरको सदस्य, शिक्षक, अफिसको स्टाफ,आदि। कहिलेकाहीँ घरपालुवा जनावर, मनपर्ने गुडिया वा वस्तु पनि तपाईंको सहयोग प्रणालीमा पर्न सक्दछन् ,जस्को उपस्थितिले भावनात्मक अप्ठ्यारो पोख्न, तनावको मूल्यांकन गर्न ,तनाव कम गर्न ,व्यवस्थापनका जानकारीमूलक सुझाव दिन, भौतिक सहयोग गर्ने भूमिका खेलेको हुन्छन्।
७. पेशागत सहयोग खोज्ने: आफु र आफ्नो सहयोग प्रणालीबाट पनि तनाव व्यवस्थापन सम्भव भएन भने ,professional help पनि लिनु पर्ने अवस्था हुनसक्छ। आवश्यकताअनुसार मनोविमर्शकर्ता , मनोवैज्ञानिक, मनोचिकित्सकको सहयोग लिन सकिन्छ।
हरेक व्यक्तिको रुचि ,चाहना,रोजाई, रहर फरक-फरक भएझैं ,तनाव व्यवस्थापन पनि फरक हुन्छ र व्यवस्थापनका विधि पनि। अत: आफुलाई कुन विधिले फाइदा भएको महसुस हुन्छ, त्यही तरिका रोज्नु उपयुक्त हुन्छ।
